Kiwi Fruit : Its Nutrient Content and Benefits to Human Health. ( किवीफलको पौष्टिक बिशेषताहरु )


1. मुटु स्वस्थ राख्न मद्दत पुग्ने (Promotes heart health) :
यसमा पाईने भिटामिन ई बीउमा पाईने अल्फा लिनोलेनिक एसिड र ओमेगा ३ फ्याट्टी एसिड ले रगत पातलो गराउन मद्दत पुर्याउछ जुन एस्प्रिन औषधिले गर्ने काम गर्दछ भनिन्छ । दैनिक २ वा ३ वटा किवीफल २८ दिन सम्म खाने गरेको अवस्थामा रगतमा रहेका प्लेटिलेट्स थिग्रीन (Platelets aggregation) कम भएको जसबाट रगत जमेर हुने हृदयघातको जोखिम कम हुन्छ भने रगतमा ट्राईग्लिसिराइड (Tri- glyceride) घटेको पुष्टि भएको छ, जुन मुटु उपचारमा प्रशिद्ध एस्प्रीन उपचारसँग तुलना गर्न सकिन्छ । किवीफलमा राम्रै मात्रामा पाईने खाद्य रेशायुक्त पदार्थले पनि रगतमा रहने हानीकारक लिपिडको मात्रालाई कम गर्दछ जसले ब्लडप्रेशर कम गर्न र अन्य मुटुको जोखिमलाइ घटाउन सघाउछ । तसर्थ किवीफल सेवनले मुटु स्वस्थ राख्न र सो सम्बन्धि रोगको जोखिम कम गर्न मद्दत पुग्दछ ।


2. धेरैजसो खाद्यतत्व पाईने फल (Most nutrient dense fruit) :
रुटगर्स विश्वविद्यालयका प्रोफेसर डा. पावल लाचान्सले यसफलसँग अन्य प्रचलित २७ किसिमका फलसँग गरेको अध्ययनमा धेरैजसो खाद्यतत्व एउटै किवीफलमा रहेको पाइएको निष्कर्ष निकालेका छन्। अन्य अनुसन्धानहरुले पनि यो फल भिटामिन, खनिजतत्व तथा अन्य मानव शरीरलाई आवश्यक पर्ने इन्जाइम तथा तत्वमा भरिपुर्ण रहेको पुष्टि गरेका छन् ।


3. भिटामिन सि प्रचुर मात्रामा पाईने (Rich in vitamin C) :
किवीफलमा सुन्तलाजात फलपूल भन्दा २-३ गुणा भिटामिन पाईन्छ । भिटामिन सि हाम्रो शरीरमा घाउँ सन्चो हुन, फलाम शोषण, हाडजोर्नी तथा दाँत स्वस्थ राख्न मद्दत पुर्याउछ । यस अलावा, धेरैजसो अध्ययन अनुसन्धानहरुले दमका विरामीहरु तथा अन्य श्वासप्रश्वास सम्बन्धि रोगमा साप्ताहिक रुपमा कम्तीमा पनि एक वा दुईवटा यो फल खाएमा राम्रो हुने सिफारिस गरेको पाईएको छ । दीर्घखोकी (Chronic cough) को समस्या भएका मानिसले अन्य औषधिको साटो कम्तिमा एकदिन विराएर किवी खाएमा यसको समस्याबाट छुटकारा पाउन सकिने पनि उल्लेख गरेको पाईन्छ ।


4. कम सोडियम तथा अधिक पोटासयुक्त फल (Low sodium and high potassium fruit) :
फलपूलहरुमा केरालाई अधिक पोटास भएको फल मानिन्छ र किवीफलमा केरा भन्दा सरदर २० प्रतिशत बढी पोटास पाईन्छ । यो खनिज तत्वले मुटुको अवान्छित गतिविधिलाई नियन्त्रण गर्नुको साथसाथै शरीरको तरल पदार्थ सन्तुलन कायम गर्न मद्दत पुर्याउछ ।



5. भिटामिन ई युक्त फल (Rich in Vitamin E) :
यो फलमा राम्रो श्रोत मानिएको एभोकाडोमा भन्दा दोब्बर मात्रामा भिटामिन ई पाईन्छ जवकि क्यालोरीको हिसावले एभोकाडोको ६० प्रतिशत मात्र हुन्छ । जसले गर्दा डाईविटिज भएको मानिसलाई विशेष गुणकारी फल सावित भएको छ । भिटामिन ई ले एन्टिअक्सिडेन्टको रुपमा काम गर्नुको साथै मुटुको जोखिम तथा क्यान्सर रोगबाट बचाउँछ । यसको अलावा यो भिटामिनले छालाको शौन्दर्यता कायम राख्न र चाउरीपनलाई कम गर्न पनि मद्दत पुर्याउछ । त्यसैले किवीयुक्त क्रिम, लोशन आदि शौन्दर्य सामाग्रीहरु पनि बजारमा पाइन्छ ।



6. फोलिक एसिडको राम्रो श्रोत (Good source of folic acid) :
प्रजनन् प्रकृया र रक्तकोषिका बन्नको लागि फोलिक एसिडको आवश्यकता पर्दछ । जसको कमीले हुने एनेमिया र नयाँ जन्मिने बच्चाको विक्रितीबाट बचाउन फोलिक एसिडको आवश्यकता पर्दछ ।


7. उमेर सँगै आंखाको ज्योती कम हुने समस्याबाट बचाउँछ (Protects from macular degeneration) :
यस फलमा अन्य फल तथा तरकारीको दाँजोमा बढी मात्रामा ल्युटिन (Lutein) पाईन्छ, जुन एन्टिअक्सिडेन्टको रुपमा काम गर्नुको साथसाथै उमेरसँगै आँखाको ज्योती घट्ने समस्या (Macular Degeneration) बाट बचाउँछ अर्थात् कम गर्छ ।


8. क्यान्सरबाट बचाउने र डिएनए सुधारमा सहयोग पुर्याउछ (Protects against cancer and aids in DNA repair) :
दैनिक किवीफलको सेवनले हाम्रो शरीरको कोषमा हुने डिएनए (DNA) सुधार मा मद्दत पुग्छ तथा बिग्रिनबाट बचाउ गर्दछ । यसले क्यान्सर रोगबाट बचावट हुन्छ।


9. खाद्य रेशायुक्त पदार्थको धनी (Rich in dietary fiber) :
किवीफलमा घुलनशील र अघुलनशील दूवै रेशायुक्त पदार्थ राम्रै मात्रामा रहेको हुन्छ । बजारमा पाईने ब्रान फ्लेक्स भन्दा बढी र सागपातहरु भन्दा झण्डै २-३ गुणा रेशा पदार्थ यो फलमा पाईन्छ । विशेष गरि घुलनशील रेशा पदार्थले मुटु र मधुमेयका रोगीहरुलाई निकै फाईदा पुर्याउनुको साथसाथै यी रोग लाग्नबाट बचाउँछ । अघुलनशील रेशा पदार्थले कब्जियत, ठुलो आन्द्राको एकप्रकारको रोग (Diverticulosis), दिशाबाट रगत जाने (Hemorrhoids', piles) र क्यान्सरबाट बचाउन मद्दत पुर्याउछ ।


10. अन्य खनिज तत्व तथा इन्जाइम (All other rich minerals & enzyme) :
किवीफलमा माथि उल्लेख गरिएका तत्वहरु बाहेक अन्य सवै खनिज तत्व र इन्जाइमहरु पाइन्छ । जस्तै क्याल्सीयम, फलाम, म्याग्नेसियम र ताँवाको साथसाथै हालैमात्र अनुसन्धानबाट आएका नयाँ तत्वहरु जस्तै म्यागनीज (जसले शरीरमा प्रोटिन र खाद्य शक्तिको लागि प्रयोग हुने इन्जाइममा सक्रिय हुन्छ) र क्रोमियम (जसले मुटुको धड्कनलाई नियन्त्रण र कार्बोहाइड्रेटको उपयोगमा सक्रिय हुन्छ) पनि यस फलमा पाइन्छ । यसको साथसाथै किवीफलमा पाइने एक्टिनिडिन (Actinidin) ले पनि रोगहरु सहन सक्ने क्षमता बढाउँछ भने एक्टिनिडिनकै कारण किवीफल मासु नरम बनाउन (Tenderization of meat) पनि प्रयोग हुन्छ ।


Previous Post Next Post
Get it on Google Play