Kiwi Fruit: Irrigation (सिंचाई)


अन्य फलफुल बालीहरुको दाँजोमा किवीफललाई सिंचाईको राम्रो सूविधा हुनु आवश्यक छ । हाम्रो देशको पहाडी क्षेत्र जहाँ किवीफलको लागि हावापानी अनुकूल हुन्छ, त्यस्ता स्थानहरुमा प्रायः सिंचित जमिन कम छ।

त्यसैले किवीफलको बगैंचा स्थापना गर्नु अघि सिंचाईको आवश्यक प्रवन्ध मिलाउनु पर्दछ । किवीफलको जरा गहिरो तर्फ भन्दा माथिल्लो सतह २ फिटमा नै फैलिने भएकोले सो ठाउँमा सधै चिस्यान कायम रहेमा बोटको विकास राम्रो हुन्छ । खास गरि नयाँपालुवा लाग्ने बखत अर्थात् बसन्त यामको प्रारम्भसँगै गर्मी बढ्दै जाने भएकोले जमिन सुख्खा हँुदै जाने क्रम बढ्न थाल्छ । जुनबेला यसलाई सिंचाईको अत्यन्त जरुरी हुन्छ । एउटा परिपक्क किवी बगानको लागि ८ महिनाको वृद्धि विकास अवधिमा १००० लिटर पानीको आवश्यक पर्छ जसको आधा पानी ३ महिना गर्मीयाम (summer season) को अवधिमा आवश्यक पर्छ । यो यामको सुरुसँगै फुल फक्रने, परागसेचन कार्य हुने र नयाँ चिचिलाहरु आउने अवस्था भएकोले सिंचाईको महत्वपूणर् भूमिका रहन्छ र यदि माटो सुख्खा हुन गएमा उत्पादनमा नकारात्मक असर पर्दछ ।


विशेष गरि निम्नानुसार वृद्धि विकासका चरणहरु सिंचाईको लागि महत्वपूणर् छन्:

क. बिरुवा रोप्ने बखत वा रोपे पछि:
बिरुवा रोप्ने बखत माटोमा चिस्यान हुनु आवश्यक छ । सुख्खा माटोमा बिरुवा रोपेमा विरुवाको नरम जरामा रहेको चिस्यान पनि माटोले सोसेर बोट कमजोर भै मर्ने सम्भावना रहन्छ ।


ख. मुना पलाउने तथा वनस्पतिक वृद्धिको अवस्था:
भर्खर रोपेको बिरुवामा बसन्त यामको सुरुवातसँगै नयाँपालुवाहरु पलाउन सुरु हुन्छ, जुन बखत बिरुवाले बढी पानी फ्याक्छ । यदि त्यस्तो अवस्थामा जमिन सुख्खा हुन गएमा मुना पलाउन र वृद्धि विकासमा नकारात्मक असर पर्दछ । अझ पुरानो बगान हो भने किवीफलमा नयाँपालुवा कोपिला (fruiting spurs) सँगै आउने गर्दछन् । यसको संख्या र वृद्धि विकास माटोमा रहेको चिस्यानमा भर पर्दछ । तर जमिनमा पानी जम्न दिनु हँुदैन र निकासको राम्रो प्रबन्ध मिलाउनु अति जरुरी छ ।


ग. फुल फक्रिने र चिचिला लाग्ने अवस्था:
मुनाहरुको वृद्धि भए पश्चात् फुल फक्रिन सुरु हुन्छ । फुलको हरेक भागको विकासको लागि पानीको आवश्यकता पर्दछ । फुल फक्रिएर फूलको भाले अङ्ग र पोथी अङ्गको स्वस्थता पनि सिंचाईमा भर पर्दछ । पोथी अङ्गको परागकण (pollen grains) ग्रहण गर्ने क्षमता तथा परागकणको क्षमता (viability) को लागि पनि माटोमा चिस्यानको अति जरुरी हुन्छ ।


घ. फल वृद्धिको अवस्था:
यो अवस्थामा माटोमा चिस्यानको जरुरी हुने भएता पनि नेपालमा बिरुवा को यो अवस्थामा वर्षात् याम सुरु हुने हुँदा सिंचाई भन्दा पनि निकासको लागि विशेष ख्याल पुर्‍याउनु पर्दछ ।


सिंचाई तरिका
किवीफलमा विभिन्न सिंचाईका तरिकाहरु अपनाएको पाईन्छ । कुलोबाट सोझै प्लटमा पानी पठाएर सिंचाईगर्ने सतह सिंचाईपनि सजिलो तरिका हो । जमिनको सतह एकदमै समथर छ र कतै पनि पानी जम्दैन भने यो तरिका अपनाउदा फरक पर्दैन, अझ पहाडी भिरालोमा कम चौडा कान्लाहरु छन् अर्थात् एक लहरमा मात्र किवी बोट छन् भने यसरी सिंचाई गर्न सकिन्छ । किनकी यस विधिमा ज्यामीमा खर्च कम हुन्छ तर पानीको दुरुपयोग हुने हुनाले पानीको मात्रा बढी लाग्छ।

प्रायः फलफुल खेतीमा रिङ्ग तरिकाबाट सिंचाई गर्ने प्रचलन छ । यसमा बोटबाट एक मिटरको गोलाईमा डेढ फिट आकारको करिव आधा फिट गहिरो कुलेसो बनाईन्छ र यसैमा मल हालेर सिंचाई गर्ने गरिन्छ । पानी कुलोबाट र पाईपको माध्यमबाट कुलेसो भरिन्छ । यसमा पानीको राम्रो सदुपयोग हुनुको साथै पानी जम्ने समस्या हुदैन ।

किवीफल खेतीमा स्प्रिंकलर सिंचाई पनि गर्ने गरिएको छ । यस्तो तरिकामा पात र हाँगाहरु नभिजाई फेद र जरा फैलिने स्थानमा मात्र भिजाउने (under-vine sprinkling) क्षमताको स्प्रिंकलर (mini sprinkler system) पनि प्रयोग गर्न सकिन्छ भने बिरुवा को सबै भाग भिज्ने गरि (over-vine sprinkling) बढी क्षमताको स्प्रिंकलर (impact sprinkler system) बाट पनि सिंचाई गर्ने प्रचलन रहेको छ । यस्तो सिंचाई खास गरि तुषारोबाट बोट बचाउन उपयोगी हुन्छ भने परागसेचनको अवस्थामा मौरीलाई प्रतिकूल असर पार्दछ र फल पटक पटक भिज्न जाने हुँदा फलको गुणस्तरलाई नराम्रो असर पार्न सक्छ ।

यसैगरि किवीफलमा थोपा सिंचाई पनि प्रचलनमा ल्याइएको छ । हाम्रो देशको किवी लगाउन सकिने क्षेत्र अधिकांश सिंचाईको अभाव भएको क्षेत्र हो । कम पानीको श्रोत भएको अवस्थामा यो विधि अत्यन्तै प्रभावकारी हुन सक्दछ । किवीफल खेतीमा निरन्तर चिस्यान कायम राख्नु पर्दछ । यस तरिकामा थोपा थोपा चुहिने प्वाल भएको पाईप बोटको वरिपरि जडान गरि अग्लो स्थानबाट निरन्तर पानी पठाइन्छ । यस विधिबाट सिंचाई गर्दा अन्य विधिको तुलनामा १० देखि १५ प्रतिशत उत्पादन वृद्धि हुने र फलको गुणस्तर पनि राम्रो भएको भारतको एक अध्ययनले देखाएको छ । यो विधिबाट सिंचाई गर्न जडित पाइपको माध्यमबाट मल, सुक्ष्म तत्व तथा अन्य विषादी पानीसँगै दिँदा यी बस्तुको समेत पूणर् सदुपयोग हुन्छ ।
Previous Post Next Post
Get it on Google Play