Kiwi Fruit: VARIETIES in Details! ( किवीफलका जातहरु )


सन् १९१० पछि जव न्युजिलेण्डमा किवीफलको विस्तार हुन थाल्यो त्यहाँका कृषकहरुले दानाको आकारको आधारमा मिल्ने खालका बिरुवाहरु ( Chanced Seedlings) छनौट गर्नथाले । सन् १९२० उप्रान्त केही जातहरु यही प्रकृयाबाट छनौट भए जुन हरियो गुदी भएका डेलिसियोसा स्पेसिसका हुन् र हालसम्म पनि त्यतिबेलाका जातहरु विश्वभर प्रशिद्ध छन् । हाल आएर न्युजिलेण्ड लगायत जापान, चीन आदि मुलुकहरु पहेँलो र रातो गुदी भएका चाइनेन्सिस स्पेसिसका केही जातहरु विकास भएका छन् जुन विश्व बजारमा प्रचलित हुन थालेका छन् । 





मुख्य मुख्य जात र तिनीहरुको विशेषता तल वणर्न गरिएको छः


क. हरियो गुदी भएका जातहरु :

१. हेवाड ( Hayward ) :

यो जात न्युजिलेण्डका कृषक हेवार्ड राईटले सन् १९२४ मा छनौट प्रकृयाबाट ( Chanced Seedlings from Natural Selection ) गरेका हुन् । यो विश्व बजारमा सबैभन्दा बढी समावेश भएको जात हो । फलको आकार ठुलो र आकर्षक ( ८० देखि १०० ग्राम ) हुन्छ र ढिलोगरि पाक्ने जात हो । 
फल गोलो र हल्का चेप्टो हुन्छ । यसलाई बढी चिलिंग घण्टा ( ६०० देखि ८०० ) चाहिने हुनाले नेपालको सन्दर्भमा बढी उचाई भएका क्षेत्रमा खेती गर्न उपयुक्त हुन्छ । गुदी हल्का हरियो, बास्नादार, हल्का गुलियो हुन्छ । मध्यम बढ्ने स्वभाव, भण्डारण क्षमता राम्रो हुन्छ ।






२. एलिसन ( Allison ) :

यो जात न्युजिलेण्डमा सन् १९२० मा छनौट प्रकृयाबाट विकास गरिएको हो । बोक्रामा बाक्लो खैरो झुस भएको, मध्यम, लामो फल, टुप्पोतर्फ अलि उठेको हुन्छ, राम्रो भण्डारण क्षमता भएको जात हो । 
यो जातमा फुल छिटो फुल्छ र हरियो गुदी भएको जातहरुमा यसलाई कम चिलिंग अवधि भए पुग्ने हुँदा यसलाई अलि कम उचाई भएका क्षेत्रहरुमा समेत खेती गर्न सकिन्छ । यो धेरै बढ्ने र राम्रो फल दिने जातको रुपमा लिइन्छ । फलको आकार भने एकनाशका हुदैनन् ।






३. मोन्टी ( Monty ) :

यो जात पनि सन् १९५० तिर न्युजिलेण्डमा विकास गरिएको हो । यो मध्यम सिजनमा तयार हुने जात हो, यसको फलको आकार लाम्चो ठुलो हुन्छ र फलको टुप्पोतर्फ थेप्चो हुन्छ ।
स्वादमा गुलियोपन धेरै हुन्छ । यो जातबाट प्रशोधित खाद्यवस्तुहरु जस्तै, जाम, जेली, जूस तथा वाइन बनाउन र ताजा फलको लागि राम्रो मानिन्छ ।







४. ब्रुनो ( Bruno ) :

यो जात सन् १९२० मा विकास गरिएको हो । हरियो गुदी भएको जातहरुमा यो अगौटे जात हो । अत्यधिक फल लाग्ने र कम चिलिंग अवधिले पनि पुग्ने भएकोले यो जात कम उचाई भएका पहाडी भागमा पनि लगाउन सकिन्छ ।
यसको फल गोलो लामो ( Cylindrical ) आकारको र टुप्पोतर्फ नाइटो जस्तै अलि उठेको हुन्छ । बोक्रा केही कालो र खैरो झुस भएको हुन्छ । यसमा बीउको संख्या धेरै हुने भएकोले नर्सरीमा रुटस्टक तयार गर्नको लागि अति उपयुक्त हुन्छ ।


५. एव्बोट ( Abbott ) :

यो जातको फल सानो र गोलाकार हुन्छ । बोक्रामा बाक्लो खैरो झुस भएको हुन्छ फल धेरै बाक्लो लाग्ने स्वभावको हुन्छ ।
स्वाद मीठो र ब्रुनो जस्तै चाँडै फुल्ने अगौटे र कम चिलिंग अवधि आवश्यक पर्ने भएकोले कम उचाईमा पनि खेती गर्न सकिने जात हो ।






ख. भाले जातहरु

१. माचुवा ( Matua ) :

यो अगौटे फुल फुल्ने भाले जात हो । झुप्पामा ३ देखि ४ वटा फुलहरु हुन्छन्, फुल सेतो रङ्गका हुन्छन् । 
यसको विशेषता फुल एकै पटक नफुल्ने र लामो समयसम्म क्रमैसँग फुल्दै जाने हुन्छ । 
विशेष गरीे एलिसन, ब्रुनो, एव्बोट, मन्टी जातको लागि उपयुक्त भाले जात हो ।


२. टोमरी ( Tomuri ) :

यो पछौटे फुल फुल्ने हेवार्ड जस्तो पछौटे जातलाई परागशेचन गर्न उपयुक्त जात हो । 
झुप्पामा ५ वटा सम्म फुल हुन्छन् र फुलहरु लामो समय सम्म फुलिरहन्छन् ।


ग. रातो तथा सुनौलो गुदी भएका जातहरु : 

सुनौलो तथा पहेलो गुदी भएका किवीफलका जातहरु सन् १९६० को दशक पछि मात्र विकास गरिएको हो । यस्ता जातहरुको बोक्रामा झुस हुदैन अथवा धेरै कम हुन्छ र बोक्रा पनि पातलो हुन्छ, जसले गर्दा ओसार पसारमा सजिलै चोट पटक लागि विग्रिने हुन्छ । यी जातहरुलाई कम चिलिंग अवधी आवश्यक पर्ने हुदा हरियो गुदी भएको जातलाइ भन्दा अलि तल्ला पहाडी भेगमा खेती गर्न उपयुक्त हुन्छ । 

यस्ता दुईवटा जातहरु तल दिइएको छ: 


१. हर्ट १६ ( Hort 16 ) 

यो जात न्युजिलेण्डमा विकास गरिएको हाल Zespri Gold को नाममा विश्व व्यापारमा निकै प्रचलित हुदै गएको छ । यसको गुदी पहेलो हुन्छ र बोक्रा चिल्लो झुस नभएको हुन्छ । संसारमा यो हेवार्ड पछिको प्रख्यात जात हो । यो खानमा स्वादिलो, खाद्यतत्वमा पनि अझ उत्तम र फलको आकार पनि ठुलो हुन्छ । फल लाम्चो र टुप्पातिर चुच्चो परेको हुन्छ । भण्डारण क्षमता भने कम हुन्छ ।





२. रेड किवी ( Red Kiwi ) :

रातो गुदी भएका केही जातहरु विकास भएका छन् । यसको फल भित्र बीउ छरिएर रहेको विच भागमा अलि बढी गाढा रातो र अन्य गुदी गाढा पहेलो रंङ्गको हुन्छ ।
जापानमा विकास भएको जातहरुमा रेन्वो रेड किवी र सोयु हुन् भने न्युजीलेण्डमा ईन्जारेड जातको विकास गरिएको हो । यो बढी गुलियो फल अलि अलि लाम्चो तर सानो आकारको हुन्छ र बोक्रामा झुस हुदैन । यसको पनि भण्डारण क्षमता कम छ । यसको लागि कोही ( Kohi ) जातको भाले जात आवश्यक पर्छ ।



Previous Post Next Post
Get it on Google Play