CLIMATIC Requirements of Kiwi Fruit [ किवीफलको लागि आवश्यक हावापानी र जमिन ]


हावापानी
किवीफल चिसो आद्रता भएको हावापानी रुचाउने बाली हो । त्यसैले यसको खेती शितोष्ण देखि समशितोष्ण हावापानी भएको भू-भागमा गर्न सकिन्छ । यसको स्वभाव पतझड भएकोले यसको हिउँदमा पात झरि बोट सुशुप्त अवस्थामा रहन्छ ।


आद्र तथा ओसिलो हावापानी भएको स्थानमा राम्ररी खेती गर्न सकिन्छ तर पानी जम्ने र वर्षातमा पानी उम्रिने जमिन उपयुक्त हुँदैन । सुख्खा स्थानमा पातहरु डढ्ने र खुम्चिने हुन्छ । गर्मि मौशममा तापक्रम ३५ डिग्री से भन्दा बढी भएमा पात र लहरालाई हानी पुग्न जान्छ, यस्तो अवस्था २/४ दिन मात्र रह्यो भने पात कपजस्तो भई किनाराबाट डढ्न ९क्गल दगचल यच कगल कअबमि० थाल्छ । नेपालको सन्दर्भमा समुद्री सतहबाट १००० देखि २५०० मिटर उचाई भएका क्षेत्रमा खेती गर्न सकिने भएता पनि कहिलेकाँही ३५ डिग्री से. भन्दा बढी तापक्रम हुने सम्भावनालाई मध्यनजर राखी कम उचाई भएको स्थानमा (१००० देखि १५०० मि.) हरियो जालीदार छाना पनि दिनुपर्ने अथवा सूर्यको प्रकाश केही रुपमा छेक्ने अन्य उपायहरु अवलम्बन गर्नुपर्ने पनि हुन सक्छ ।


उदाहरणको लागि भारतको सोलान विश्वविद्यालयमा रहेको किवीफल बगानमा माथीबाट हरियो जालीदार कपडा हालेर खेती गरिएको छ । तर तापक्रम त्यो हदसम्म नजाने स्थानमा यसको जरुरी पर्दैन । यसर्थ नेपालमा १००० मिटर भन्दा कम उचाईका क्षेत्रमा यसको खेती गर्न उपयुक्त हुदैन। अतः हाम्रो देशमा १२०० देखि २४०० मि.को उचाई यसको लागि अति उपयुक्त मान्न सकिन्छ ।


यसको बोटको सक्रिय लहरा र पातलाई ५ डिग्री से भन्दा कम तापक्रम हुँदा हानी पुग्छ र बाक्लो तुषारोले हाँगाको बोक्रा खुईलिने डर हुन्छ । तर पूणर् रुपमा सुशुप्त अवस्थामा गई सके पछि −१२ डिग्री से. तापक्रम सम्ममा पनि बाँच्दछ । किवीफलले हिउँदको तुषारो सहन सक्ने तर बसन्त वा हिउँद अघि (सुशुप्तमा नजांदै) तुषारो परेमा बोटलाई हानी पुग्न जान्छ । मुना र फुल फुल्नको लागि जात अनुसार ४०० देखि ८०० घण्टा चिलिंग अवधि आवश्यक पर्दछ । तर केही जातहरुलाई ३०० घण्टा अवधिले पनि पुग्छ । रातो वा पहेलो किवी ( A. chinensis ) लाई कम चिलिंग घण्टा आवश्यक पर्ने भएकोले अलि तल्लो भेगमा खेती गर्न सकिन्छ भने हरियो गुदीदार ( A. deliciosa ) लाई बढी चिलिंग अवधि चाहिने भएकोले बढी उचाई भएका क्षेत्रहरुमा लगाउदा उपयुक्त हुन्छ । चिलिंग अवधि नपुगेमा मुना र फुल फुल्न ढिलो वा नफुल्ने हुन सक्छ ।


किवीफलको खेती गर्नको अर्को महत्वपूणर् आवश्यकता हो आद्रता, फल लागि सकेपछि बढ्नको लागि कम आद्रता हानीकारक हुन्छ । फुल फुल्ने समयमा कम आद्रता (Relative Humidity) (सापेक्षिक आद्रता ५० देखि ६० प्रतिशत) भए पनि हुन्छ भने फल बढ्ने अवधिमा ७० देखि ९० प्रतिशत सापेक्षिक आद्रता आवश्यक पर्दछ । त्यसैले नेपालको पूर्वी देखि मध्य भेग किवीफल खेती गर्न बढी उपयुक्त हुने र पश्चिमी भेगहरुमा बढी आद्रता हुने स्थानहरु मात्र उपयुक्त हुने देखिन्छ । बार्षिक औषत बर्षा १५०० मि.मि. उपयुक्त हुन्छ तर असिनाले हानी पुर्‍याउछ ।



जमिन र माटो
किवीफल खेतीको लागि नेपालमा पहाडी भेगको हावापानी उपयुक्त हुने भएकोले प्रायः भिरालो जमिनका कान्लामा खेती गर्नुपर्ने हुन्छ । धेरै भिरालो जमिनमा जमिन चाँडै सुक्न जाने र खेती व्यवस्थापनमा अप्ठेरो पर्न जाने हुनाले हल्का भिरालो (१० डिग्री देखि १५ डिग्री) उपयुक्त हुन्छ ।

किवीलाई प्रशस्त सूर्यको प्रकाश चाहिने भएकोले राम्रो सिंचाई भएको दक्षिणी मोहडा भएको जमिन छान्नु पर्दछ । सिंचाई सूविधा कम छ र हावापानी अलि बढी न्यानो छ भने पूर्वी मोहडाको जमिन पनि छान्न सकिन्छ । सूर्यको प्रकाश कम पर्ने भएको अवस्थामा फलको गुणस्तर राम्रो हुँदैन ।

किवीफललाई प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट वा दुमट माटो उपयुक्त हुन्छ र चिम्टाईलो उपयुक्त हुँदैन । माटोमा राम्रो निकासको व्यवस्था मिलाउनु अति जरुरी हुन्छ । माटोको पि.एच. ६.५ देखि ६.९ उपयुक्त हुने र ७ भन्दा माथी भएमा म्यागनीज कमीको लक्षण देखाउन थाल्छ । किवीफलका जराहरु १, २ फिटमै फैलिने भएकोले सो सतहमा पानी नजम्ने, माटो खुकुलो हुनु जरुरी छ ।

Previous Post Next Post
Get it on Google Play