Kiwi Fruit : Male and Female Flower, Pollination and Fertilization Process. ( परागसेचन प्रकृयामा भाले र पोथी फुल )


भाले बोटमा भाले फुल फक्रेको २ देखि ५ दिनसम्म परागकणहरु सकृय हुन्छन्, त्यसपछि निष्कृय हुन थाल्छन् । पोथी फुलले पत्रदल (Petal) झर्ने बेला सम्म अर्थात् फुल फक्रेपछि को ५ देखि ९ दिनसम्म पनि परागकण ग्रहण गरि गर्भाधान (Fertilization) गर्ने क्षमता राख्दछन् । तर परागकण र पोथी अङ्ग (Stigma) सक्रिय रहने अवधि जातहरुमा भर पर्दछ । परागसेचन भएपछि पुष्पदल विस्तारै पहेलिएर सुक्न थाल्दछ । परागसेचन र गर्भाधान भए पछि बीउहरुको विकास प्रारम्भ हुन्छ फलको कोसिकाहरुको आकार बढ्ने र कोष विभाजन कार्य बढ्न थाल्दछ । राम्ररी परागसेचन र गर्भाधान भएमा बीउको संख्या बढ्छ जसले फलको आकारमा पनि वृद्धि हुन्छ जसकारण गुणस्तरीय फलको उत्पादनमा समेत वृद्धि हुन्छ ।


भाले फुल (Male Flower) :-
भाले फुलमा धेरै संख्यामा पुंकेशर (Stamen) हुनुको साथै प्रशस्त परागकण (Pollen grains) बोकेको हुन्छ । तर अपरिपक्क (Rudimentary) डिम्व भएको र डिम्व वाहिनी नली नभएको कारण फुलमा गर्भाधान कृया हुँदैन र केवल सक्रिय परागकण मात्र उत्पादन गर्दछन् ।
Photo : Male Kiwi Flower




पोथी फुल (Female Flower) :-
पोथी फुलमा पुंकेशर (Stamen) भएतापनि सक्रिय परागकणहरु उत्पादन गर्न सक्दैन स्त्रीकेशर (Stigma), डिम्ववाहिनी नली (Style), डिम्वासय (Ovary) चाँही स्पष्ट र पोटिलो देखिन्छ । तसर्थ परागकण प्राप्त गर्ना साथ गर्भाधान हुन्छ ।
Photo : Female Kiwi Flower



प्राकृतिक रुपमा परागसेचन (Natural Pollination) :-
किवीफल स्वभावैले परसेचन बाली हो, बोट नै भाले र पोथी फरक भएकोले स्वसेचन हुदैन र परसेचनमा बाहकको (Pollinating agent) आवश्यक पर्छ । हावाले परसेचनमा मद्दत पुर्‍याई रहेको हुन्छ । यस बाहेक कीराहरु मुख्यतः मौरीले मुख्य भूमिका निभाउँछ । हुनत किवीफलमा पुष्परस (Nectar) हुँदैन तर परागकण संकलन गर्ने क्रममा परसेचनमा सहयोग मिल्दछ तसर्थ प्रति हे. ८ वटा मौरीघार सिफारिस गर्ने गरिन्छ । यस बाहेक भमरा, झिँगा, पुतली आदि कीराहरुले पनि परसेचनमा मद्दत पुर्‍याउछ ।


कृत्रिम परागसेचन (Artificial Pollination) :-
फक्रेको भाले फुल टिपी फक्रेकै पोथी फुलमा २ सेकेण्ड जति घर्षण गराइएमा शेचनकृया पुरा हुन्छ । एउटा भाले फुलले ५ वटा पोथी फुललाई सेचन गराउन पुग्दछ । व्यावसायिक रुपमा खेती गर्ने कृषकहरुलाई यो त्यति सम्भव छैन, तर परागकणहरु संकलन गरि मेशिनको सहायताले छर्न भने सकिन्छ । किवीफलको उत्पादन बढाउनको लागि ९० प्रतिशत परागसेचनको भूमिका छ । फलको साईज र बीउको संख्या यसैमा भर पर्दछ । राम्रो आकारको फलमा ६०० देखि १२०० बीउ पाईन्छ भने राम्ररी परागसेचन नभएमा ५० देखि १०० मात्र बीउ भएको पनि पाईएको छ।


फल लाग्ने प्रकृया :-
किवीको फलको आकार, रङ्ग र साइज प्रजाती तथा जातमा भर पर्दछ । यसको फललाई बेरी भनिन्छ । बेरीको बोक्रा खैरो झुसले ढाकेको हुन्छ । गर्भाधान प्रकृया पश्चात गर्भाशय (Ovary) को वृद्धि सुरु हुन्छ र बेरी अर्थात् फलमा परिणत हुन्छ । एउटा फुलको गर्भाशायमा सरदर १४०० सम्म अण्डाशयहरु (Ovules) हुन्छन् । एउटा फल भित्र जात अनुसार ५०० देखि १००० वटा बीउहरु हुन्छन् । प्राकृतिक रुपमा परागसेचन भएको फलमा करिव ५०० बीउ हुन्छन भने कृत्रिम परागसेचन गरेकोमा १४०० सम्म बीउ लाग्दछ ।

किवीफलमा एक बर्ष पुरानो हाँगा (Fruiting arms) मा बसन्तको सुरुसँगै पलाएको नयाँमुना (Fruiting spurs) मा मात्र फल लाग्छ । एक वर्ष पुरानो हाँगामा पनि ठाडो बढेकोमा भन्दा तेर्साइएर बढाइएको हाँगामा फल धेरै लाग्छ । नयाँपलाएको कलिलो मुनामा रहेको पातको फेद (Leaf axil) मा फुलको झुप्पा (Inflorescence) लाग्छ र झुप्पाको संख्या र झुप्पामा लाग्ने फलको संख्या जात अनुसार फरक पर्दछ । प्रायः नयाँपालुवाको तेस्रो देखि छैठौ पातको फेदभाग सम्म मात्र फुल फुल्ने गर्दछ र टुप्पो भाग भने बढ्दै जान्छ । किवीफलको फुलको गर्भाधान पछि ३० देखि ४० दिन सम्म फलको वृद्धि तिव्ररुपमा हुन्छ, त्यस पछिको अर्को ३० देखि ४० दिनसम्म फलको वृद्धिक्रम घट्न जान्छ र फल लागेको १५० दिन पछि निकै न्यून गतिमा वृद्धि हुने गर्दछ । करिव २२० दिनमा फल परिपक्क हुन्छ ।


Previous Post Next Post
Get it on Google Play