Kiwi Fruit Cultivation : Importance and Scope In Nepal. ( नेपालमा किवीफलको संभावना र महत्व )


किवीफलको विशेषता र स्वभाव अनुसार चिसो हावापानी, आद्रता बढी भएको, सिंचाई सुविधा भएको जमिन आवश्यक पर्ने भएकोले नेपालको १००० मिटर देखि २४०० मिटर सम्मको उचाईमा पर्ने पूर्व देखि पश्चिमसम्मको लाखौ हेक्टर पहाडी भू–भागमा यसको खेती गर्न सकिन्छ । फलफूल खेतीको हिसावले हाल नेपालको सुन्तला भईरहेको उच्चाई भन्दा माथी र हाल स्याउ खेति भैरहेको क्षेत्र मुस्ताङ्ग, कर्णाली क्षेत्र भन्दा तलको क्षेत्र यसको सम्भाव्यता भएको क्षेत्र हो । नेपालमा किवीफललाई महत्वकासाथ जोड दिनु पर्ने कारण बँुदागत रुपमा तल दिईएको छ ।

१. राम्रो उत्पादन लिन सकिन्छ (High yield) ः
नेपालमा करिव ७-८ वर्षका बोटहरुले ५० देखि ७० किलोग्राम सम्म उत्पादन दिएको पाईएको छ । अझ राम्ररी खेती व्यवस्थापन गर्न सकिएमा उत्पादन बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यो फल प्रत्येक वर्ष फल्दछ ।


२. उत्पादन प्रविधि सजिलो छ (Easy Production Technology) :
यो फलको खेती प्रविधि त्यति जटिल छैन, सजिलैसँग कृषकले अपनाउन सक्दछन् । यो फलको खेती गर्दा पहिलो वर्ष खाल्टो खन्न, बिरुवा खरिद गर्न र सपोर्ट व्यवस्थापन गर्नुपर्ने भएकोले लगानी वढी लाग्दछ । बगान स्थापना गरिसके पछि दुई पटक काँटछाँट र मलजल दिने त्यसपछि वर्षमा दुई चार पटक गोडमेल अनि गर्मियाममा सिंचाई गर्ने गरे पुग्छ । वर्षैभरि खटिरहनु पर्ने झन्झट पर्दैन ।


३. वजारमुखी तथा निर्यातमुखि छ (Market Oriented Exportable Fruit) :
हाल नेपालमा यसको बजार प्रमुख रुपमा सुपरमार्केटमा हुने गरेको छ । काठमाण्डौको सुपरमार्केटमा निकै महँगोमा सिजन अनुसार रू.४०० देखि ८०० प्रति किलोमा विक्री भैरहेको छ । हाल शहर बजारमा यसको महत्व बुझेका उपभोक्ताहरु मात्र यसका ग्राहक हुन भने भविष्यमा यसको उपभोक्ताहरु बढ्न जाने देखिन्छ । अझ गुणस्तरीय फल उत्पादन गर्न सकिएमा भारत, बंगलादेश र अन्य मुलुकहरुमा पनि निकासी गर्न सकिने सम्भावना पनि छ । किनकी भारतले वर्षेनी धेरै फल आयात गर्दै आएको छ उक्त मुलुकमा जनसंख्याको आधारमा खेती गर्न सकिने क्षेत्र अत्यन्त न्यून छ भने बंगलादेशमा यसको खेती हुदैन ।


४. बढी आम्दानी लिन सकिने (High income) :
यो फल जमिनको आकार हेरेर प्रति रोपनी जमिनमा १५ देखि २० वोट अटाउछ र १० देखि १५ वटा मात्र बोटमा फल लागेको हिसावले प्रतिवोट ५० के.जि फलेमा प्रतिरोपनी ५०० देखि ७५० केजि फल फल्दछ र न्यूनतम रु १०० प्रतिकेजि विक्री गरेमा पनि प्रतिरोपनी प्रतिवर्ष रु ५०,००० देखि ७५,००० आम्दानी लिन सकिन्छ ।


५. लामो समय सम्म भण्डारण क्षमता (Storability for Long Duration) :
किवीफल वोटमा छिप्पिए पछि टिपिन्छ र संरक्षण गरिन्छ । टिप्दा, ओसारपसार, भण्डारण प्यकिङ्ग गर्दा चोटपटक नलगाई सुरक्षित गरेमा लामो समय सम्म भण्डारण गरेर राख्न सकिन्छ। यो फल कार्तिक मंसिर महिनामा टिप्ने भएकोले ६ देखि ८ हप्ता खुल्ला ठाउँमा नै भण्डारण गर्न सकिन्छ। यदि कोल्ड स्टोरमा 0 डिग्री सेल्सीयसमा राख्न सकियो भने ६ देखि ८ महिनासम्म राख्न सकिन्छ। यसरी करिव ८ दखि १० महिना सम्म किवीफलको व्यवस्थापन मिलाउने सम्भावना देखिन्छ ।


६. रोजगारीको अवसर बढाउँछ (Promote employment opportunity) :
संसारको किवीखेती हुने देशहरुमा यसको व्यवशायीक खेती तिव्र रुपमा बढेको छ । धेरै आम्दानी हुने, पोषिलो, अन्यपरिकारहरु किवी जुुस, किवी वाईन, जाम वनाउन सकिने हुँदा विभिन्न उद्यमशिलता बढाउँछ । अझ छाला स्वस्थ राख्ने शौन्दर्य सामाग्रीहरु जस्तै क्रिम, लोसन आदिमा पनि किवीफलको प्रयोग बढ्दै गएको छ, किनकी छाला स्वस्थ राख्न आवश्यक पर्ने भिटामिन सि यो फलमा राम्रै मात्रामा पाईन्छ ।


७. राष्ट्रिय अर्थतन्त्रमा ठुलो टेवा दिन्छ (Direct impact on National Economy) :
नेपालको हाल सुन्तला खेती भैरहेको क्षेत्र भन्दा माथी र स्याउ खेती हुने मुस्ताङ्ग तथा कर्णाली क्षेत्र भन्दा तलको भूभागको अथवा १००० मिटर देखि २५०० मिटरसम्मको उच्च पहाडी भू–भागमा यस फलको खेती गरी ठुलो परिमाणमा उत्पादन गर्न सकिन्छ र कृषकहरुले आयस्तर वृद्धि गर्न सक्दछन् । हाल नेपालको फलफूल उत्पादनमा सुन्तला र स्याउ खेतिले भन्दा बढी योगदान दिन सक्ने सम्भाव्यता रहेको छ । जसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा ठोस टेवा पुग्न सक्ने देखिन्छ ।


८. जलवायु परिवर्तनको असर कम हुने (Less effect of climate change) :
किवीफल खेतीको लागि आवश्यक हावापानीको फराकिलो पन अन्य बाली भन्दा बढी छ, जस्तै नेपालको सन्दर्भमा पनि करिव १२०० देखि २४०० मिटरको उचाईको भू–भागमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । आवश्यक चिलिंग घण्टाको नै लेखाजोखा गर्दा पनि यस फलको चिलिङ्ग अवधि दुईतीन गुनाको फरक छ । जसले गर्दा जलवायुको परिवर्तनलाई अन्य बालीको तुलनामा यो फलले सहज रुपमा सहन सक्ने अवस्था छ ।


Previous Post Next Post
Get it on Google Play