History of Kiwi fruit Cultivation in Nepal. ( नेपालमा किवीफलको सुरुआत )


सर्वप्रथम किवीफलको क्याटलगिङ्ग नेपालको ठेकीफल भएको उल्लेख भैसकेको छ । नेपालको उच्च पहाडी भेगको जंगलमा किवीफलसँग मेल खाने वनस्पती पाईन्छ, यसलाई ठेकी फल भनेर चिनिन्छ । कैनी १९९९ का अनुसार सो ठेकीफल किवीको एउटा प्रजाती एक्टिडिनिया क्यालोसा (Actnidia callosa)  हो भने नार्कबाट प्राप्त सूचना अनुसार (Poudyal, 2014)  नेपालमा यो प्रजातीको साथसाथै एक्टिनिडिया स्ट्राइगोसा (A. strigosa)  प्रजाती समेत रहेको छ । खासगरि नेपालको पूर्वी पहाडी भाग देखि मध्य पहाडी भागमा ठेकीफल जंगलमा पाईने गरेको तर पश्चिमी पहाडमा पाईएको हालसम्म जानकारी आएको छैन । 

सम्भवतः किवीफललाई आद्र हावापानी आवश्यक पर्ने हुनाले पनि पूर्वमा यो बढी मात्रामा पाईएको हुन सक्छ । प्रचलनमा आएका किवीफलका जातहरुको जरा प्रणाली तल नधसिने र नरम हुने हुँदा सिंचाई र निकासको अत्यन्त राम्रो व्यवस्था गर्नु पर्दछ तर ठेकीफलको जरा प्रणालीको अध्ययन गरि रुटस्टकको रुपमा प्रयोग गर्न सकिने र कलमी संयोजन (Compatibility)  अध्ययन गर्न जरुरी छ । हालसम्म बागवानी केन्द्र बोंच, दोलखामा ठेकीफलमा गरिएका कलमी बिरुवाको अवस्था राम्रो देखिएको छ र बागवानी केन्द्र किर्तिपुरले पनि राम्रै नतिजा भएको बताएको छ ।


नेपालमा किवीफल कहिले प्रवेश भयो भन्ने आधिकारीक तथ्य नभटीएको भएतापनि ठाउँ ठाउँमा यसका बोट भेटिएका छन् । बिभिन्न परियोजनामा काम गर्ने र पर्यटकका रुपमा नेपालमा आएका विदेशीहरुले कृषकहरुको बारीमा बिरुवा लगाई दिएका बोटहरु पाईएका छन् । म्याग्दी, सोलु, दोलखा जिल्लाहरुमा पुराना किवीफलका बिरुवा पाईएका छन् । यसै सिलसिलामा स्वीस परियोजनाका बखत जिरी सडक निर्माणमा संलग्न एक स्विस ईन्जीनियर जे.एफ.म्यासीले वि.सं. २०४२।०४३ साल तिर दोलखा जिल्लाको चरिकोटमा एक जना कृषक श्याम खड्काको जमिनमा लगाएको किवीफलको बोट यसको एउटा उदाहरण हो । यस्तै जिरी प्राविधिक शिक्षालयमा पनि केही पुराना बोटहरु छन् । बागवानी विकास आयोजना, किर्तिपुरद्वारा वि.सं. २०४३-४४ सालमा केही किवीका जातहरु परिक्षणका रुपमा भित्रियो र किवी बगानको रुपमा व्यवस्थापन हुदै आएको छ । यसैगरि दामन फार्ममा पनि किवीको बगान रहेको छ ।

ईसिमोड (ICIMOD) ले वि.सं. २०५५-५६ सालमा भारतको हिमाञ्चल प्रदेशको कुल्लूबाट बिरुवा ल्याई गोदावरी स्थित उक्त संस्थाको प्रदर्शनी फार्ममा लगाई बगान स्थापना गरेको छ । विस्तारै विस्तारै नेपालमा पनि किवीफलको चर्चा सुरु भएको र काठमाडौं स्थित विभिन्न डिपार्टमेन्ट स्टोरमा किवीफल राम्रै मुल्यमा विक्रि हुन थालेकोले काठमाडौं उपत्यका र ईलामका कृषकहरुले यसको खेती प्रति ईच्छुक भई ईसिमोडमा बिरुवा तयार गर्न आग्रह अनुसार वि.सं. २०६१-६२ देखि कृषकस्तरमा किवीफलको बगान स्थापना हुनेक्रम सुरु भयो ।


Previous Post Next Post
Get it on Google Play