History of Kiwi Fruit : World and Nepal. ( किवी फलको ऐतिहासिक पृष्ठभुमि )


ऐतिहासिक पृष्ठभुमि (A History of Kiwi Fruit)

अन्य फलपूल बालीको तुलनामा किवीफलको इतिहास त्यति लामो छैन । यसको उत्गम स्थल चीन भए पनि यसको इतिहास न्युजिलेण्डसँग जोडिएको छ । किनभने किवीफलको व्यवसायिकरण, व्यापारीकरण तथा निर्यातको सुरुआत न्युजिलेण्डबाट भएको हो । उत्तरी चीनको याङ्जे उपत्यकाको हुपेह, सिचुवान, कियांसि र फुकियेन प्रदेश तथा पूर्वी भागको झियांगजियांग भागमा पहिले देखि नै पाईने बहुउपयोगी फलको रुपमा यो फललाई लिइन्थ्यो र ति क्षेत्रहरुमा करिव ३०० वर्ष अघिदेखि जंगलबाट फल संकलन गर्ने र सानोतिनो स्तरमा हाँगा काटेर घर छेउछाउमा लगाउने गर्दथे र खासै खेतीको रुपमा लगाईन्थेन । आज सम्म पनि झियांगजियांग क्षेत्रमा रहेका थुप्रै गाउँहरुमा (Counties) बर्षेनी किवीफल जंगली लहराहरुवाट संकलन हुने गर्दछ । ति क्षेत्रमा ठुला रुखहरु, चट्टानमा चढेका लहराहरु प्रशस्त मात्रामा फलेका किवीफल पाइन्छ । तर चिनीयाहरुको लामो समयसम्म यसको व्यावसायिक उत्पादन तर्फ ध्यान गएको थिएन । चिनियाहरुले यो फल टनिकको रुपमा सुत्केरी आमा र बच्चाहरुलाई खुवाउने चलन थियो तर फलको रुपमा खाने प्रचलन त्यति थिएन ।


किवीफल एक्टीनिडियासि (Actinidiaceae) परिवार अन्तरग पर्दछ र यसैको एउटा प्रजाती नाथानियल वालिच (Dr. Nathaniel Wallich), जो डेनिस नागरिक तर ईष्ट ईन्डिया कम्पनीबाट कलकत्ताको बोटानिकल गार्डेनको सुपरिबेक्षण गर्दथे, उनले सन १८२१ तिर नेपालबाट संकलन गरेका थिए भन्ने उल्लेख गरेको पनि पाईन्छ । सन् १८४७ लण्डन स्थित रोयल हर्टिकल्चर सोसाईटि (Royal Horticulture Society)  का एजेन्टले बिरुवाको नमुनाहरु संकलन गरि यसको व्याख्या भएको थियो भन्ने पनि पाइन्छ ।


सन् १९०६ तिर न्युजीलेण्डको वाङ्गानुई गल्र्स कलेज (Wanganui Girls College)  की प्रिन्सिपल मेरि इसावेल फ्राजर (Mary Isabel Fraser) ले चीन भ्रमणमा गएको बेला चिनियाहरुले यो फल उनलाई चखाए र उनलाई यो फल मिठो लागेकाले उनले यसको केही बीउ न्युजिलेण्ड लैजाने निधो गरेर केही बीउ लिएर गए । आफ्नो कलेजको माली Alexandar Allison  लाई रोप्नको लागि दिए । सन् १९१० तिर पहिलो पटक फल लाग्यो । फलको बासना गुजबेरी सँग केही मिल्ने भएकोले यो फललाई चाईनिज गुजबेरी भन्न थालियो । जबकि गुजबेरी अर्कै परिवार ग्रोसोलारिसि (Grossulariaceae) अन्तरगत पर्दछ । फलको स्वाद चाख्ने जति सबैले मन पराएको हुनाले त्यहि बर्ष केही फल लाग्ने लहराहरु पनि चीनबाट झिकाईयो । बीउबाट लगाईएको बिरुवामा फुल लागेपछि भाले पोथी छुट्याएर विस्तारै विस्तारै यो फलको खेती वरपर गर्न थालियो । छोटो समयमै यसले प्रख्याती कमाउन थाल्यो धेरै कृषकहरु यस प्रति आकर्षित हुन थाले ।

Previous Post Next Post
Get it on Google Play